कूटनीतिक मर्यादामा बालेन शैली : २० देशका राजदूतसँग सामूहिक छलफल
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै कूटनीतिक क्षेत्रमा नयाँ परम्पराको सुरुवात गरेका छन् । विगतमा प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने चलन रहे पनि शाहले त्यसलाई तोड्दै सामूहिक छलफल गरेका हुन् । प्रधानमन्त्रीको यो कदमलाई कुटनीतिक वृत्तमा प्रशंसा गरिएको छ ।
बुधबार भएको भेटमा राजदूतहरूले छोटो समयमै देशको संक्रमण व्यवस्थापन गरी नागरिकमा भरोसा जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिएका थिए । छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार ‘जेनजी’ आन्दोलनपछि सरकारले सुरु गरेको कार्यशैलीप्रति राजदूतहरूले खुसी व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता जनाएका छन् । नेपालमा स्थिरता कायम भएमा काम गर्न सजिलो हुने उनीहरूको धारणा थियो ।
प्रधानमन्त्री शाहले नेपालले तय गरेको असंलग्न परराष्ट्र नीतिमा कुनै परिवर्तन नहुने र सबै मुलुकसँग समान व्यवहारका साथ सहकार्य गर्ने प्रष्ट पारेका छन् । “विकास निर्माणका थुप्रै काम बाँकी छन्, जसमा सबैको साथ आवश्यक पर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अधिकारीले बताए । शाहले विश्वमा जारी द्वन्द्वले सर्वसाधारणलाई असर गर्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए ।
भेटका क्रममा प्रधानमन्त्रीले वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि पहल गरिदिन राजदूतहरूलाई आग्रह गर्दै नेपाली जनताको जीवनस्तर सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे ।
सामूहिक भेटमा भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया, जर्मनी, बङ्गलादेश, जापान र स्विजरल्याण्ड लगायत २० देशका राजदूत तथा कूटनीतिज्ञहरूको उपस्थिति थियो । छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई समेत सहभागी थिए ।
