सार्वजनिक यातायात र ढुवानी भाडा वृद्धि : २१ प्रतिशतसम्म

काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने अन्तिम तयारी गरेको हो ।

नयाँ निर्णयअनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले बढाइएको छ । मालवाहक सवारीको हकमा भने भौगोलिक क्षेत्रअनुसार फरक-फरक वृद्धिदर कायम गरिएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडामा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडामा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिका कारण यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनका लागि दबाब दिँदै आएका थिए । सोही माग र अन्य प्राविधिक कारणहरूलाई आधार मानेर मन्त्रालयले भाडा वृद्धिको स्वीकृति दिएको विभागले जनाएको छ ।

नयाँ भाडादरको विस्तृत विवरण विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नेछ । भाडामा भएको यो उच्च वृद्धिसँगै सर्वसाधारणको दैनिक यात्रा खर्च बढ्नुका साथै ढुवानी भाडा महँगो हुँदा उपभोग्य वस्तुको बजार मूल्यमा समेत थप चाप पर्ने देखिएको छ ।

नयाँ भाडा वृद्धिदर अनुसार सार्वजनिक यातायातमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रको ढुवानीमा २१.६८ प्रतिशत र तराई क्षेत्रको ढुवानीमा १५.७५ प्रतिशतले मूल्य बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *