विराटनगर विमानस्थलमा धुवाँको मुस्लो र भागाभाग
विराटनगर । बुधबार बिहान ८ बजे विराटनगर विमानस्थलको रनवे नजिकैबाट एक्कासी आगोको ठूलो लप्कासँगै कालो धुवाँको मुस्लो आकाशतर्फ सोझियो ।
विमानस्थल वरपरका स्थानीय “लौ जहाजमा आगो लाग्यो” भन्दै चिच्याउन थाले । केहीबेरमै दमकल र एम्बुलेन्सका साइरनले विमानस्थल गुञ्जियो, सुरक्षाकर्मी र कर्मचारीहरू इस्ट्रेचर बोकेर रनवेतिर दौडिएको देख्दा लाग्थ्यो- ठूलै बज्रपात आइलाग्यो ।
काठमाडौंबाट ५५ यात्रु बोकेर आएको ‘एक्सरसाइज एयर’ को विमान आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको खबरले त्यहाँको माहोल निकै तनावपूर्ण बन्यो ।
विमानस्थल प्रशासनका अनुसार ५ जनाको मृत्यु भएको र चालक दलका सदस्यसहित ४१ जना घाइते भएको विवरण सार्वजनिक भयो । आगो निभाउन र घाइतेलाई अस्पताल पुर्याउन सेना, प्रहरी र रेडक्रसको टोली युद्धस्तरमा खटियो ।
तर, यो सबै दृश्य कुनै वास्तविक दुर्घटना नभई विमानस्थलमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएको ‘फूल स्केल’ उद्धार पूर्व अभ्यास थियो ।
यो अभ्यासले स्थानीय र यात्रुलाई केही समय त्रसित बनाए पनि विमानस्थलको सुरक्षा र उद्धार क्षमताको परीक्षण भने सफल भएको छ ।
विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार प्रत्येक दुई वर्षमा गरिने यस्तो अभ्यासले वास्तविक संकटको समयमा मानवीय र भौतिक क्षति कम गर्न मद्दत पुर्याउँछ ।
उद्धारकर्मीहरूको चुस्तता र यन्त्र उपकरणको अवस्था जाँच गर्न यो कृत्रिम दुर्घटनाको नाटकीय दृश्य तयार पारिएको उनले बताए।
