अस्पतालले डिस्चार्ज दियो, घर गएपछि मृत्यु

विराटनगर। झापामा निर्माणाधीन घरबाट लडेर घाइते भएका एक पुरुषको अस्पतालले डिस्चार्ज दिएको भोलिपल्टै मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-२ चैतुबारीका ४० वर्षीय शङ्खर किस्कुको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको हो।

बिर्तामोड-४ स्थित पुरानो बिजुली अफिस नजिक डम्बरबहादुर श्रेष्ठको निर्माणाधीन दुई तले पक्की घरमा काम गर्ने क्रममा किस्कु गत चैत १६ गते दिउँसो लडेर घाइते भएका थिए।

दुई तला माथिबाट खसेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकले सोमबार उनलाई डिस्चार्ज गरिदिएका थिए।

अस्पतालबाट घर लगिएका किस्कुको मंगलबार बिहान ९:३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेको थियो।

पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ। उपचारमा संलग्न अस्पतालको लापरबाही थियो वा अन्य कारणले मृत्यु भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *