‘ओली र लेखकले गल्ती स्वीकारेर माफी माग्नुपर्छ’
काठमाडौँ। प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले ‘जेनजी’ आन्दोलनका क्रममा भएको गल्ती स्वीकार गर्नुपर्ने बताएका छन्।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले सरकारको प्रमुख व्यक्ति भएको नाताले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
सांसद पुनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले सिधै गोली हान्ने आदेश नदिएको भए पनि आफ्नो मातहतमा भएको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरे।
“उनीहरूले गोली चलाउने आदेश दिएनन् रे, तर प्रमुख त उनीहरू नै थिए नि,” पुनले भने, “आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गर्छ भने बिराएछ भन्न सक्नुपर्छ। क्षमा मागेर कोही मान्छे घट्दैन।”
उनले जिम्मेवार पदमा बसेका व्यक्तिले आफ्नो कार्यकालमा भएका कमजोरीहरूलाई लुकाउनु भन्दा स्वीकार गर्नु नै उत्तम हुने धारणा राखे। “बिराएको र गल्ती भएको कुरालाई जिम्मेवार व्यक्तिले स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने?” भन्दै उनले प्रश्न समेत गरे।
एमाले सांसदहरूले ओली र लेखकमाथि लगाइएको मुद्दा प्रतिशोधपूर्ण रहेको बताइरहेका बेला सांसद पुनको यस्तो प्रतिक्रिया आएको हो।
