ओली र लेखकलाई थप हिरासतमा नराख्न परमादेश

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट अदालतले खारेज गरिदिएको छ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो।

रिट खारेज भए पनि अदालतले निवेदकहरूको पक्षमा एक महत्त्वपूर्ण परमादेश जारी गरेको छ। अदालतले हाल तेस्रो पटक थपिएको ५ दिनको म्याद सकिएपछि उनीहरूलाई पुनः हिरासतमा राखेर अनुसन्धान गर्न म्याद नथप्न आदेश दिएको छ।

अदालतको आदेशमा भनिएको छ, “चैत २१ गतेदेखि लागू हुने गरी काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक ५ दिनका लागि दिइएको म्यादभित्रै अनुसन्धान सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नू। यदि सो अवधिमा निर्णय हुन नसकेमा, तेस्रो पटकको म्याद सकिएपछि निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई कानुनी प्रक्रिया पूरा गरी हिरासतमुक्त गर्नू।”

अदालतले हिरासतमुक्त गरेरै थप अनुसन्धान र तहकिकातको कार्य अघि बढाउन विपक्षीका नाममा परमादेश जारी गरेको छ। यस आदेशसँगै अब उनीहरूलाई थप समय हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो बन्द भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *