‘सिंहदरबार जलाइएको घटनाको छानबिन खोइ ?’

काठमाडौं। नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको हालसम्म पनि निष्पक्ष छानबिन नभएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन्।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिंहदरबारलगायतका संरचना जलाइएको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भइरहेको बताएकी हुन्।

“भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ? भदौ २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो कि हिंसात्मक? त्यसको जिम्मा कसले लिने हो?” बैठकमा उनले प्रश्न गरिन्।

भदौ २३ गतेको घटनाबारे केही प्रतिवेदन आए पनि २४ गते सिंहदरबारजस्ता महत्वपूर्ण संरचना जलाउने कार्यको योजनाकार र परिचालन गर्ने शक्तिबारे मौन बस्न नहुने उनले उल्लेख गरिन्।

सिंहदरबारलाई खण्डहर बनाउने र नवयुवालाई गलत ढङ्गले परिचालन गर्ने प्रवृत्तिले आफू भावविह्वल भएको उनले बताइन्। सरकारले यस्ता गम्भीर घटनाको तथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै उनले कार्पेटमुनि धुलो लुकाएर सबै ठीकठाक छ भन्न नहुने तर्क गरिन्। उनले घटनाको गहिराइमा पुगेर दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *