नेउवासंघ कोशी अध्यक्षमा राउत निर्वाचित

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्। विराटनगरमा आइतबार राति सम्पन्न महासंघको आठौँ प्रदेशसभाबाट राउत दोस्रो कार्यकालका लागि भारी मतान्तरले विजयी भएका हुन्। निर्वाचनमा राउतले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई ८४ मतान्तरले पराजित गरे।

कुल २०५ मतदाताले मतदान गरेको निर्वाचनमा राउतले १४२ मत प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित भए। राउतले वस्तुगततर्फ ११, जिल्ला-नगरतर्फ २४ र एसोसिएट्सतर्फ १०७ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी रिजालले वस्तुगतमा ६, जिल्ला-नगरमा १३ र एसोसिएट्समा ३९ मत मात्र पाए। यसअघि तीन वर्षअगाडि झापामा भएको निर्वाचनमा भने राउत निर्विरोध निर्वाचित भएका थिए।

शिवम् अर्गनाइजेसनका अध्यक्ष समेत रहेका राउत महासंघ कोशीका संस्थापक सदस्य हुन्। उनको नेतृत्वमा प्रदेश कार्यालय भवन निर्माणको काम भइरहेको छ। राउतसँग प्रतिस्पर्धा गरेका रिजाल महासंघका केन्द्रीय सदस्य हुन्।

निर्वाचनमा अध्यक्ष पदका लागि मात्र मतदान भएको थियो भने अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका थिए। जिल्ला-नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चयन भए। निर्विरोध भएका सबै पदाधिकारीहरू राउत समूहकै हुन्।

त्यसैगरी, सदस्यहरूमा एसोसिएट्सतर्फ देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए। जिल्ला-नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् भने वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भए। महासंघ कोशीमा जिल्ला-नगरबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ जना मतदाता सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *