महान्यायाधिवक्तामा कँडेल नियुक्त, लिए शपथ

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानबाट उनले शपथ लिएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारै अधिवक्ता डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। बागलुङको बिहुँमा जन्मिएका कँडेलले बेलायतबाट उच्च शिक्षा हासिल गरेका छन्।

उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि सन् २००७ मा आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र सन् २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका छन्। उनले सन् २०२३ मा क्विन्स युनिभर्सिटीबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रता विषयमा विद्यावारिधि गरेका हुन्।

डा. कँडेलले आफ्नो व्यावसायिक यात्रा पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ देखि करिब एक दशक उनले रेडियो नेपाल, राजधानी दैनिक लगायतका सञ्चार माध्यममा काम गरे। २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले २०६० सालमा अधिवक्ताको प्रमाणपत्र लिएका थिए।

उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल र मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरूमा समेत आबद्ध रहेर काम गरेका छन्। बेलायतबाट फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रूपमा सक्रिय थिए।

नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा नियुक्त भएसँगै उनले आइतबारदेखि कार्यभार सम्हालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *