रेडपाण्डा महोत्सव तान्यो स्वदेशी-विदेशी पर्यटक
इलाम । इलामको सन्दकपुर गाउँपालिका-४ स्थित कालपोखरी क्षेत्रमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। तेस्रो ‘रेडपाण्डा महोत्सव’ सुरु भएसँगै नेपाल-भारत सीमावर्ती यो क्षेत्र पर्यटकको नयाँ केन्द्रका रूपमा विकसित हुँदै गएको हो।
दुर्लभ वन्यजन्तु रेडपाण्डालाई नजिकबाट अवलोकन गर्ने चाहनाका साथ तराईदेखि पहाडसम्मका पर्यटकहरू कालपोखरी पुगेका छन्। रेडपाण्डा प्रत्यक्ष हेर्ने अवसरसँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि आगन्तुकलाई लोभ्याएको छ।
महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डाको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
महोत्सव सुरु भएसँगै स्थानीय होटल तथा होमस्टेहरूमा पाहुनाको चाप निकै बढेको छ। स्थानीय व्यवसायीहरू यसलाई आर्थिक अवसरका रूपमा लिँदै उत्साहित देखिएका छन्। कार्यक्रममा मगर, राई र शेर्पा समुदायका सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएका छन्, जसले पर्यटकलाई स्थानीय कला र परम्पराको अनुभव गराएको छ।
जैविक विविधताले भरिपूर्ण कालपोखरी-सन्दकपुर क्षेत्र रेडपाण्डासँगै अन्य दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिको बासस्थानका रूपमा परिचित छ। नेपालका विभिन्न स्थानका साथै भारतको दार्जिलिङ, सिक्किम र पश्चिम बंगालबाट समेत पर्यटकहरूको आगमन बढ्दो छ। यो महोत्सवले सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको ‘इको-टुरिजम’ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
