डीपी अर्याल: मजदुरदेखि सभामुखसम्मको यात्रा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल संघीय प्रतिनिधि सभाको १०औँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबारको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्वाचित भएको घोषणा गरे। फागुन २१ को निर्वाचनमा काठमाडौँ-९ बाट ३५ हजार ९३ मतसहित विजयी भएका अर्यालले निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पराजित गरेका थिए।

पार्टीभित्र शालीन र समन्वयकारी नेता मानिने अर्याल आफ्नै दलको नेतृत्वमा बनेको शक्तिशाली सरकारमा गृहमन्त्रीको दौडमा थिए। सभापति रवि लामिछाने उनलाई गृह प्रशासनको जिम्मेवारी दिन चाहन्थे, तर प्रधानमन्त्री बालेन्द्र शाहसँगको शक्ति सन्तुलन र आन्तरिक समीकरणका कारण सुधन गुरुङ गृहमन्त्री बनेपछि अर्याल सभामुखको भूमिकामा पुगेका हुन्। यससँगै अबको पाँच वर्ष उनको सक्रिय दलीय राजनीतिमा संवैधानिक ‘ब्रेक’ लाग्नेछ।

२०३२ सालमा धादिङको सामान्य किसान परिवारमा जन्मिएका अर्यालको राजनीतिक र व्यावसायिक यात्रा संघर्षपूर्ण छ। २०४९ सालमा काठमाडौँ छिरेका उनले सुरुमा रेस्टुरेन्टमा मजदुरका रूपमा काम गरे।

२०५३ सालमा रोजगारीका लागि जापान पुगेर ८ वर्ष सङ्घर्ष गरेपछि स्वदेश फर्किएका अर्यालले पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स क्षेत्रमा आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरे। उनले इजिलिंक रेमिटेन्सको सीईओका रूपमा वैदेशिक मुद्रा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

राजनीतिमा उनको प्रवेश सामाजिक सेवाकै क्रममा भयो। २०७४ सालमा रास्कोट अस्पताल निर्माणका क्रममा रवि लामिछानेसँग जोडिएका अर्याल २०७९ मा रास्वपा स्थापना हुँदा संस्थापक उपसभापति बने। छोटो समयमै दुई पटक श्रम मन्त्री बनेका उनले श्रमिकका पक्षमा केही सुधारका प्रयास गरेका थिए।

अर्यालको राजनीतिक जीवनमा सबैभन्दा कठिन परीक्षा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दामा जेल परेपछि सुरु भयो। पार्टी अस्तित्वको संकटमा रहेका बेला उनले सडक, सदन र संगठनलाई सुझबुझपूर्ण तरिकाले नेतृत्व गरे।

‘जेन-जी’ आन्दोलन र नेतृत्वमाथिको चौतर्फी प्रहारका बीच बालेन शाह नेतृत्वको समूह र अन्य वैकल्पिक शक्तिसँग एकता गराई पार्टीलाई जोगाउन उनले खेलेको भूमिकालाई रास्वपाभित्र उच्च मूल्याङ्कन गरिन्छ। त्यही सुझबुझ र राजनीतिक परिपक्वताले उनलाई आज राज्यको गरिमामय पद सभामुखसम्म पुर्‍याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *