संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ। प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित नवनिर्मित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको बैठकमा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आजै अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा सभाध्यक्षले विभिन्न विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। चैत २१ को आम निर्वाचनपछि गठन भएको नयाँ सरकार र संसद्ले आफ्नो नियमित कार्य अघि बढाउने क्रममा यी बैठकहरू बस्न लागेका हुन्।
