रामायणको ३०० वर्ष पुरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने
रामायणको एक दुर्लभ ३०० वर्ष पुरानो पाण्डुलिपि अन्तर्राष्ट्रिय राम कथा संग्रहालयमा सार्वजनिक प्रदर्शनका लागि राखिने भएको छ । भारतको अयोध्या सहरको सांस्कृतिक र आध्यात्मिक सम्पदालाई थप उजागर गर्न यो पाण्डुलिपि संग्रहालयलाई दान गर्न लागिएको हो ।
संग्रहालयका अधिकारीहरूका अनुसार यस पाण्डुलिपिले ठूलो ऐतिहासिक र धार्मिक मूल्य बोकेको छ । यसबाट प्रारम्भिक शास्त्रीय परम्परा र तत्कालीन समयको संरक्षण अभ्यासहरूका बारेमा महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने विश्वास गरिएको छ । यो बहुमूल्य सामग्रीको प्रदर्शनीले अयोध्यालाई धार्मिक पर्यटन र अध्येताहरूका लागि एक प्रमुख केन्द्रको रूपमा अझ बलियो बनाउने अपेक्षा छ ।
भगवान रामको जीवन र शिक्षासँग सम्बन्धित कलाकृतिहरू प्रदर्शन गर्दै आएको अन्तर्राष्ट्रिय राम कथा संग्रहालयले यस पाण्डुलिपिलाई आफ्नो विशेष प्रदर्शनीमा समावेश गर्ने तयारी सुरु गरेको छ । पाण्डुलिपिलाई सुरक्षित राख्न उचित संरक्षणका उपायहरू अपनाइने र यसले भावी पुस्ताका लागि मार्गदर्शकको काम गर्ने बताइएको छ ।
यस कदमलाई भारतको समृद्ध साहित्यिक र सांस्कृतिक विरासत संरक्षणमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । यस दुर्लभ पाण्डुलिपिले तीर्थयात्री र इतिहासकार दुवैलाई उत्तिकै आकर्षित गर्ने अनुमान गरिएको छ । पछिल्लो समय अयोध्यामा भक्तजनहरूको संख्यामा ठुलो वृद्धि भएको छ, जसले धार्मिक पर्यटनको बढ्दो आकर्षणलाई पुष्टि गर्छ । देशभरका तीर्थयात्रीहरू पवित्र सरयु नदीमा स्नान र पूजापाठका लागि आउने क्रम जारी छ । (एएनआइ)
