कहिले देउवातिर-कहिले गगनतिर, तर भन्छन्: ‘म कुनै समूहमा छैन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै पनि गुट वा समूहमा नरहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै कोइरालाले यस्तो दाबी गरेका हुन् । सामाजिक सञ्जालहरूमा आफूलाई विभिन्न पक्षको भनेर प्रचार गरिएकोमा उनले आपत्ति समेत जनाए ।

उनले आफ्नो मुख्य लक्ष्य कांग्रेसलाई एकढिक्का र सुदृढ बनाउनु रहेको जिकिर गरे । पार्टीभित्र एकता कायम गर्नका लागि आफूले अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने उनको भनाइ थियो ।

कांग्रेसलाई एकजुट बनाएर आगामी निर्वाचनमा मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको पनि कोइरालाले उल्लेख गरे ।

कार्यक्रमका क्रममा उनले बिपी कोइरालाको नाममा स्थापना भएको यस अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सरकारी सेवाबाट अवकाश पाएका अनुभवी चिकित्सकहरूको विशेष योगदान र सक्रियता आवश्यक रहने सुझाव समेत कोइरालाले दिए ।

पार्टीको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएका बेला उनी देउवा पक्षतिर थिए। उनीसमेतको उपस्थितिमा बसेको बैठकले थापा र विश्वप्रकाश शर्मालाई निष्काशनको कारबाही गरेको थियो।

उनै कोइराला पछि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न गगनकहाँ पुगे। पराजित भएपछि अब फेरि पुरानै समूहमा गएर भेलाहरु आयोजना गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *