गुण्डागर्दीविरुद्ध रातभरि प्रहरीको अपरेसन : १७ जना पक्राउ
काठमाडौँ। गुण्डागर्दीमा संलग्न भएको अभियोगमा प्रहरीले शुक्रबार राति काठमाडौँका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ। गुण्डागर्दीविरुद्ध प्रहरीले थालेको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ। काठमाडौँको ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। पक्राउ पर्नेमा अधिकांश ‘काभ्रेली समूह’मा आबद्ध गुण्डाहरू रहेको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’लगायत छन्। सुरेश गुरुङ गुण्डा नाइके श्याम लामा समूहका सदस्य हुन्। सिन्धुपाल्चोक घर भएका श्याम लामा भने फरार छन्।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन्। प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध भई बौद्ध क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकृतहरूले बताएका छन्।
त्यसैगरी, बिर्जु महर्जन कलङ्की र बाफल क्षेत्रमा, सुजन कार्की कलङ्की क्षेत्रमा र हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय गुण्डा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।
