विराटनगरको यातायात कार्यालयमा किर्ते गरी ठगी गर्ने पक्राउ
विराटनगर । सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले ३७ वर्षीय कमल कुमार स्वर्णकारलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-६ का स्वर्णकारलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।
यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने बहानामा सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको पाइएको छ ।
प्रहरीका अनुसार उनले अन्य धेरै व्यक्तिको सवारी दर्ता किताब (बिलबुक) लिई छैटौँ तहको अधिकृतको नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर ठगी धन्दा चलाइरहेका थिए ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्वर्णकारको घरमा खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार पक्राउ परेका स्वर्णकारमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, मोरङ प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका अन्य कोही व्यक्ति भएमा ५ दिनभित्र जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।
सरकारी कागजात किर्ते गर्ने र सर्वसाधारणको विश्वासमाथि खेल्ने यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
