विराट गोल्डकप चैत २८ देखि
फाइल तस्बिर
विराटनगर। ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८ औँ संस्करण आगामी चैत २८ गतेदेखि विराटनगरस्थित सहिद मैदानमा सुरु हुने भएको छ। आयोजक विराट गोल्डकप ट्रस्टले बिहीबार प्रतियोगिताको तालिका र सहभागी टोलीबारे औपचारिक जानकारी दिएको हो।
वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित कूल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकका प्रवक्ता धनकुमार लामाले बताए। प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसी र सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन्।
यसैगरी तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ भने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मोरङको लिग विजेता सम्राट स्पोर्टिङ क्लबले भारतको झारखण्डको टोलीसँग खेल्ने तालिका छ। साविक विजेता थ्रिस्टार क्लब भने यस पटकको प्रतियोगितामा सहभागी हुने छैन।
विराटनगरस्थित नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्को प्रवर्द्धनमा हुने यो प्रतियोगिता दिवारात्री (डे-नाइट) रूपमा खेलाइने छ।
वि.सं. २०१८ सालबाट ‘महेन्द्र गोल्डकप’ को नाममा सुरु भएको यो प्रतियोगितालाई यस वर्षदेखि ट्रस्टले पुरानै गौरवलाई कायम राख्दै ३८ औँ संस्करणका रूपमा गणना गर्ने निर्णय गरेको छ। अघिल्लो संस्करणमा चर्च ब्वाइजलाई हराउँदै थ्रिस्टार क्लबले उपाधि जितेको थियो।
