एमालेमा खटपट: संसदमा बादलको सम्बोधनप्रति कडा आपत्ति

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नवनिर्वाचित नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले बादलका भनाइहरू पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको भन्दै सार्वजनिक रूपमै कडा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा बादलले ‘जेनजी’ आन्दोलन र संसद्‌को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गरेका थिए। उनले वर्तमान व्यवस्था ल्याउन एमालेको मुख्य भूमिका रहेको चर्चा गर्दै नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको पूर्ण विश्वास रहेको बताएका थिए।

तर, उनले सम्बोधनका क्रममा सुशीला कार्की नेतृत्वको वर्तमान सरकार र युवाहरूको आन्दोलनमाथि उठाएका प्रश्नहरूलाई लिएर उपाध्यक्ष पौडेलले असन्तुष्टि पोखेका हुन्।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बादलको विचारप्रति विमति जनाउँदै यस विषयमा पार्टीको केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने बताएका छन्।

“प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,” पौडेलले लेखेका छन्, “यस सम्बन्धमा भोलि आयोजना गरिएको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।”

संसदीय दलको नेता चुनिएलगत्तै बादल र पार्टीका अन्य शीर्ष नेताहरूबीच देखिएको यो मतभेदले एमालेभित्रको आन्तरिक समीकरणमा नयाँ तरङ्ग पैदा गरेको छ।

एकातिर पराजित उम्मेदवार सुहाङ नेम्वाङले पार्टी सुधारको एजेन्डा उठाएका छन् भने अर्कोतिर निर्वाचित नेता बादलको पहिलो गाँसमै ढुङ्गा लागेझैँ आफ्नै पार्टीका उपाध्यक्षबाट विरोध भएको छ। भोलि बस्ने सचिवालय बैठकले यो विवादलाई कसरी निरूपण गर्छ भन्ने चासोका साथ हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *