जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन सिडिओ पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। सुविधानगरबाट उनलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ।
जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा बानेश्वरमा किशोरहरूको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको भन्दै रिजालको तीव्र आलोचना हुँदै आएको थियो।
यद्यपि, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिने क्रममा उनले आफूले घातक हतियार प्रयोग गरी गोली प्रहार गर्ने आदेश नदिएको दाबी गरेका थिए।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
सोही घटनाको सिलसिलामा तत्कालीन प्रशासन प्रमुख रिजाललाई पनि अहिले कानुनी दायरामा ल्याइएको छ।
