‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर…’

काठमाडौँ । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक प्रस्तुति ‘पलेँटी’ सम्पन्न भएको छ।

दार्जिलिङका विस्मृत रचनाहरूलाई अभिलेखमा ल्याउने उद्देश्यले शुक्रबार र शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा खरेलले आफ्ना बाल्यकालका सम्झनामा रहेका पुराना गीतहरू प्रस्तुत गरे।

१७ वर्षअघि पलेँटीमा पहिलो प्रस्तुति दिएका खरेल यसपटक भने गायिका अभिज्ञा घिमिरेका साथ मञ्चमा उत्रिएका थिए।

कार्यक्रमको सुरुवात बद्री र दुर्गा खरेलको चर्चित गीत ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ बाट भएको थियो। त्यसपछि दुर्गाले संगीतकार अम्बर गुरुङका कालजयी सिर्जनाहरू ‘पहाड सुक्यो जस्तो लाग्छ’ र ‘डाँडापारी हिउँ परेछ’ जस्ता गीतहरू सुनाए।

संगीतकार गोपाल योञ्जनलाई आफ्ना पहिलो गुरु मान्ने खरेलले उनको स्मृतिमा ‘लिई गला नदीको बालुवाको ओठ लिएर’ र ‘प्रियसीको हत्केलामा कोरिएका रेखाहरू’ गाउँदा दर्शकहरू भावुक बनेका थिए।

सांगीतिक साँझमा शान्ति ठटालका सिर्जनाहरूलाई पनि विशेष स्थान दिइएको थियो। खरेलले कुनै समय नाटकमा गन्धर्वको भूमिका निभाउँदा गाएको ‘सुन सुन भला पञ्च म केही भन्छु’ बोलको गीत सुनाए भने अभिज्ञा घिमिरेले ठटालकै संगीतमा रहेको ‘कुन जुनीको पाप मलाई आज लागेछ’ प्रस्तुत गरिन्।

त्यस्तै, ६० को दशकअघि दार्जिलिङमा लोकप्रिय रहेका एमबी सुन्दासका आधुनिक र लोक शैलीका गीतहरूले कार्यक्रमलाई थप रोचक बनाएका थिए।

कार्यक्रममा दिनेशराज रेग्मी, पारशमणि सुवेदी, मिलेश तण्डुकार, मिलन घिमिरे, कृपेश लोहनी र सुदीप खत्रीले वाद्यवादनमा साथ दिएका थिए।

अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार सञ्चालन हुने पलेँटीको आगामी शृङ्खलामा दार्जिलिङका गायक पवन गोले र संगीतकार रमेश गुरुङ प्रस्तुत हुने आयोजकले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *