एसईईमा खटिने शिक्षक-कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्न आग्रह

काठमाडौँ । चैत १९ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटिने कर्मचारीहरूको पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै शिक्षक विश्वर सिंह मेवाहाङले शिक्षामन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएका छन्।

विद्यालय शिक्षाको संवेदनशील मानिने यस परीक्षामा खटिने निरीक्षक र सहयोगी कर्मचारीहरूको सेवा-सुविधा श्रम शोषण जस्तो भएको उनले उल्लेख गरेका छन्।

मेवाहाङले कार्यालय समयभन्दा बाहिर गरिने अतिरिक्त कामको ज्याला सम्मानजनक हुनुपर्ने माग गरेका छन्। हाल निरीक्षकले दैनिक ३५० र कार्यालय सहयोगीले २०० रुपैयाँ पाउने व्यवस्था छ, जसमा १५ प्रतिशत कर कट्टी हुँदा कर्मचारीलाई अन्याय भएको उनले बताए। “सरसफाइका लागि दैनिक जम्मा ५७ रुपैयाँ छुट्याइएको छ, यति पैसाले स्कुल कसरी सफा गर्ने ?” उनले प्रश्न गरेका छन्।

त्यस्तै, प्रश्नपत्र र उत्तरपुस्तिका प्रहरी थानासम्म ढुवानी गर्न बजेटको व्यवस्था नभएको तर्फ पनि उनले मन्त्रीको ध्यानाकर्षण गराएका छन्। कतिपय परीक्षा केन्द्रदेखि थानासम्मको दूरी १५ किलोमिटर सम्म हुने भए पनि यातायात खर्च नदिँदा केन्द्राध्यक्षहरू समस्यामा परेको उनले जनाए।

परीक्षा बोर्डले नै सञ्चालन गर्ने कक्षा १२ र कक्षा १० को परीक्षाको पारिश्रमिकमा किन विभेद गरिएको भन्दै उनले समानताको माग गरेका छन्।

न्यून पारिश्रमिकका कारण निरीक्षक पाउनै गाह्रो हुने र कतिपय ठाउँमा अवैध असुलीका समाचार समेत आउने गरेकाले यसलाई रोक्न उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने मेवाहाङको तर्क छ।

बौद्धिक नेतृत्वका रूपमा चिनिएका शिक्षामन्त्री पोखरेलले यसबारे गम्भीर पहलकदमी लिनेमा उनले विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *