प्रधानमन्त्रीले सोधे, ‘समस्या के छ ? समाधान के हुन सक्छ ?’
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग उनीहरूका आ-आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समस्या र समाधानका उपायबारे चासो राखेका हुन्।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आ-आफ्नो क्षेत्रका समस्याबारे जानकारी गराएको बताए। जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानको बाटो के छ? भनेर जिज्ञासा राखेको छलफलपछि न्यौपानेले जानकारी दिए।
‘उहाँले हामीले आ-आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्र बढीका समस्या राख्यौँ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो।’
केही समस्याहरू बजेट अभावका कारण केही समय लाग्ने र तत्कालै समाधान गर्न सकिने समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीले बचन दिएको न्यौपानेको भनाइ छ।
छलफलमा सहभागी झापाका सांसद प्रकाश पाठकले आसन्न बजेटका लागि सुझाव दिएको उल्लेख गर्दै झापा क्षेत्र नम्बर ३ का मतदाताले भोगेका समस्या प्रधानमन्त्रीसमक्ष राखेको बताए।
