वैचारिक संकटको भुमरीमा नेपाली वामपन्थ र रूपान्तरणको बाटो

नेपालको आधुनिक राजनीतिक इतिहासमा मदन भण्डारी र जीवराज आश्रित केवल व्यक्ति होइनन्, उनीहरू एउटा युग, एउटा विचार र एउटा सम्भावनाका प्रतीक हुन्। ३३ वर्षअघि दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा उनीहरूको असामयिक निधन केवल नेतृत्वको रिक्तता मात्र थिएन, त्यो वैचारिक मार्गदर्शनको पनि अचानक अवरोध थियो। आज उनीहरूको स्मृतिमा उभिएर हेर्दा एउटा प्रश्न अनिवार्य रूपमा उठ्छ- के हामीले उनीहरूले देखाएको बाटो सम्हाल्न सकेका छौँ?

बहुदलीय जनवाद: वामपन्थको माटो-पानी सुहाउँदो नेपाली आधार

जनताको बहुदलीय जनवाद (जबज) नेपाली वाम आन्दोलनको एउटा मौलिक योगदान थियो। यो विचारले परम्परागत मार्क्सवादी धारणालाई नेपाली यथार्थसँग जोड्दै प्रतिस्पर्धात्मक बहुदलीय प्रणालीभित्र समाजवादको सम्भावना खोज्यो। यसले स्वीकार गर्‍यो कि जनताको मत, बहुदलीय प्रतिस्पर्धा र खुला राजनीतिक प्रक्रियाबिना कुनै पनि समाजवादी परियोजना दिगो हुन सक्दैन।

यस अवधारणाले वामपन्थलाई जनताको बीचमा बलियो बनायो। वाम शक्तिहरू केवल आन्दोलनकारी शक्ति नभएर शासन गर्ने वैकल्पिक शक्ति बने। लोकतन्त्र र समाजवादबीचको द्वन्द्वलाई यसले सहअस्तित्वमा रूपान्तरण गर्‍यो। यही आधारमा वामपन्थीहरू जनतामाझ लोकप्रिय बने र राज्यसत्ताको नजिक पुगे।

‘उग्र वामपन्थ’ र विभाजनको राजनीति

पक्कै पनि इतिहास सिधा रेखामा अघि बढ्दैन। उग्र वामपन्थको उदयले वाम आन्दोलनलाई अर्को दिशामा धकेल्दै अगाडि बढायो। वर्ग सङ्घर्षको तीव्र व्याख्या, सशस्त्र सङ्घर्ष र तत्काल परिवर्तनको आकाङ्क्षाले राजनीतिक परिवर्तनलाई गति त दियो र नेपाल गणतन्त्रसम्म पुग्न पनि सफल भयो। यो उल्लेख्य ऐतिहासिक उपलब्धि हो, तर समस्या त्यहाँबाट सुरु भयो जहाँ शक्ति प्राप्त भयो।

सत्ता प्राप्त गर्नु र त्यसलाई जनताको हितमा प्रभावकारी रूपमा प्रयोग गर्नु- यी दुई बिल्कुल फरक कुरा हुन्। उग्र वामपन्थले परिवर्तनको नेतृत्व त गर्‍यो, तर शासन सञ्चालनमा चाहिने स्थायित्व, नीतिगत स्पष्टता र आर्थिक व्यवस्थापनमा अपेक्षित परिणाम दिन सकेन।

आवश्यकताभन्दा बढी आत्मविश्वासले गर्दा अन्य वाम शक्तिहरूलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्यो। त्यसैबीच, दक्षिणपन्थसँग नजिकिने राजनीति पनि देखियो। प्रतिक्रियास्वरूप, अर्को वामपन्थी शक्ति पनि त्यही प्रतिस्पर्धामा उत्रियो- कसले दक्षिणपन्थलाई बढी रिझाउने भन्ने दौडमा। यसै प्रतिस्पर्धाको परिणामस्वरूप आजको राजनीतिक अवस्था सिर्जना भएको देखिन्छ, जहाँ विचारभन्दा सत्ता र रणनीतिक समीकरण हाबी भएका छन्।

‘एक वाम, अर्को वामको शत्रु’

आजको सबैभन्दा दुःखद पक्ष वाम शक्तिहरूबीचको निरन्तर द्वन्द्व रह्यो। विचारको बहस आवश्यक हुन्छ, तर जब त्यो व्यक्तिगत, सङ्गठनात्मक र तल्लो स्तरको झगडामा रूपान्तरित हुन्छ, त्यसले सम्पूर्ण आन्दोलनलाई कमजोर बनाउँछ। वर्षौँसम्म एउटा वाम शक्ति अर्को वाम शक्तिको ‘मुख्य शत्रु’ बनेर प्रस्तुत भयो, जसले जनतामा निराशा मात्र बढायो। परिवर्तनको अपेक्षामा विश्वास गरेका जनताले पछिल्लो समय नेतृत्वमा विभाजन, अहङ्कार र असहयोग मात्र देखे।

संसारभर वामपन्थी जनमत व्यापक भए पनि राज्य सञ्चालनमा निरन्तर टिकिरहन सकेका देशहरू भने औँलामा गन्न सकिने मात्र छन्। यसको एउटा कारण कम्युनिस्ट विचारधाराको ‘सेतो कागज’ जस्तो स्वभाव पनि हो, जहाँ सानो त्रुटि पनि धेरै ठूलो देखिन्छ। वामपन्थीहरूलाई गल्ती गर्ने छुट हुँदैन, तर कमजोरी सच्याउँदै जनताका मुद्दामा निरन्तर राजनीतिक चेतना फैलाउने काम भने उनीहरूले गरिरहेका हुन्छन्। परिवर्तनका बहसहरू प्रायः वामपन्थीहरूबाटै उठ्छन्, तर निरन्तर सत्तामा टिकिरहन नसक्ने र कतै न कतैबाट पतनतर्फ मोडिने प्रवृत्ति भने चुनौतीकै रूपमा देखिन्छ।

जनताको फैसला: अस्थायी अस्वीकार

अन्ततः बहुदलीय प्रतिस्पर्धाको सुन्दरता यही हो- जनताले अन्तिम फैसला गर्छन्। जब वामपन्थीहरू आफ्नै अन्तर्विरोधमा अल्झिए, जनताले विकल्प खोजे। परिणामस्वरूप, नयाँ दक्षिणपन्थी शक्तिको उदय भयो। यो स्थायी परिवर्तन होइन, यो जनताको अस्थायी निर्णय हो। जनताले वामपन्थलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्, उनीहरूले व्यवहार, कार्यशैली र परिणामको आधारमा असन्तुष्टि व्यक्त गरेका हुन्।

मार्क्सवाद: शासन मात्र होइन, समाज परिवर्तनको आधार

मार्क्सवादलाई केवल सत्तामा पुग्ने माध्यमको रूपमा बुझ्नु ठूलो भूल हो। यसको मूल उद्देश्य समाज परिवर्तन हो- शोषणको अन्त्य, समानताको स्थापना र न्यायपूर्ण वितरण। मार्क्सवादी शक्तिहरू सत्तामा नभए पनि प्रभावकारी हुन सक्छन्। उनीहरूले नीति, बहस र जनदबाबमार्फत राज्यलाई लोककल्याणकारी बनाउन सक्छन्। वास्तवमा प्रतिस्पर्धात्मक लोकतन्त्रमा यही भूमिका अझ प्रभावकारी हुन सक्छ।

खोपीको देउता: विचारको विडम्बना

आज विश्वका धेरै ठाउँमा मार्क्सवाद ‘खोपीको देउता’ जस्तो देखिन्छ- सुन्दर रूपमा सजाइएको, तर व्यवहारमा कमजोर। यसको कारण विचार होइन, यसको प्रयोग गर्नेहरूको कमजोरी हो। जब विचारलाई जड बनाइन्छ, जब आलोचना-आत्मानुभूति हराउँछ, जब नेतृत्व जनताबाट टाढा हुन्छ, तब त्यो विचार जीवित रहँदैन, केवल प्रतीकमा सीमित हुन्छ।

नेपालमा आज आत्मालोचना र पुनर्निर्माणको आवश्यकता खड्किएको छ। आजको आवश्यकता सत्ता कब्जा गर्ने हतारो होइन। आवश्यकता छ त केवल गहिरो आत्मालोचनाको। नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफ्ना गल्तीहरू स्वीकार गर्नुपर्छ। खुला बहस, आलोचना र सुधारको प्रक्रियाबाट मात्र नयाँ विश्वास निर्माण हुन सक्छ। जनताको बहुदलीय जनवादलाई पुनः बुझ्न आवश्यक छ- यसको मर्म, यसको अभ्यास र यसको सान्दर्भिकता। यसलाई केवल नारा होइन, व्यवहारमा उतार्नुपर्छ।

भविष्यको वामपन्थ केवल पुरानो संरचनाको पुनरावृत्ति हुन सक्दैन। यसले नयाँ सामाजिक यथार्थलाई समेट्नुपर्छ। यदि वर्ग र समुदायको प्रतिनिधित्व गर्दै अघि बढ्ने हो भने निमुखा जनता, किसान, मजदुर, उद्यमी, पर्यटन व्यवसायी र युवा सबैको आवाजलाई समेट्ने समावेशी संरचना निर्माण गर्नैपर्छ। पुँजीको विकास र न्यायोचित वितरणबीच सन्तुलन कायम गर्ने नीति आवश्यक छ। यही नै आधुनिक समाजवादको आधार हुन सक्छ।

आशा अझै बाँकी छ

आजको निराशा अन्तिम सत्य होइन। इतिहासले बारम्बार देखाएको छ- विचारहरू कहिल्यै मर्दैनन्, तिनीहरू केवल रूप बदल्छन्। तर आजको युग फरक छ। यहाँ विचारको सङ्घर्ष सडकमा मात्र होइन, डिजिटल प्लेटफर्म र एल्गोरिदमभित्र पनि चलिरहेको छ। कुन विचार कति देखिने, कति फैलिने भन्ने कुरामा अब प्रविधिको ठूलो प्रभाव छ। तर यही एल्गोरिदमलाई मात्र दोष दिएर आफ्ना वैचारिक र सङ्गठनात्मक कमजोरीहरूबाट उम्कन खोज्नु भने आत्मविमुखता नै हो।

यसैबीच, जेन-जी (नयाँ पुस्ता) को उदयले राजनीतिमा नयाँ भाषा, नयाँ शैली र नयाँ अपेक्षाहरू ल्याएको छ। उनीहरू परम्परागत नाराभन्दा परिणाम खोज्छन्, विचारभन्दा व्यवहारमा विश्वास गर्छन् र पारदर्शिता, स्वतन्त्रता एवं उत्तरदायित्वलाई प्राथमिकता दिन्छन्। यदि कुनै शक्ति उनीहरूको आकाङ्क्षासँग जोडिन सकेन भने त्यो स्वतः अप्रासंगिक बन्दै जान्छ।

आजको अस्थिरता पनि यही सङ्क्रमणको परिणाम हो- पुरानो सोच र नयाँ चेतनाबीचको टकराव। यसलाई सङ्कटको रूपमा मात्र होइन, सम्भावनाको रूपमा पनि हेर्न सकिन्छ। यही अस्थिरताभित्रै नयाँ दिशा खोज्ने अवसर लुकेको हुन्छ।

त्यसैले यदि वामपन्थी शक्तिहरूले आफ्ना कमजोरीहरू इमानदारीपूर्वक स्वीकार गर्दै, बहुदलीय जनवादको मर्मलाई आत्मसात् गरी, समयअनुसार आफूलाई रूपान्तरण गर्न सके- विशेषगरी जेन-जीको भावना बुझ्दै डिजिटल युगको वास्तविकतासँग जोडिन सके भविष्य अझै उज्यालो हुन सक्छ।

नत्र इतिहास कहिल्यै चुप लागेर खाली बस्दैन। उसले फेरि पनि नयाँ विचार बोल्नेछ, नयाँ शक्ति र नयाँ विकल्प जन्माउनेछ।

जाँदाजाँदै, मदन-आश्रितलाई सम्झनु भनेको केवल स्मरण होइन, व्यवहार हो। विचार जिउँदो राख्न सके मात्र श्रद्धाञ्जली साँचो हुन्छ, नत्र सबै कर्मकाण्ड मात्र हुनेछन्।

* * *

ती मदन भण्डारी (ऐतिहासिक १५ तस्बिरमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *