एमाले कार्यकर्ताको प्रदर्शन : स्थिति तनावग्रस्त

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ। पार्टीका २३ वटा जनसङ्गठनहरूले शनिबार दिउँसो आयोजना गरेको एकीकृत विरोध प्रदर्शनका क्रममा स्थिति नियन्त्रण बाहिर गएको हो।

बिहान भक्तपुरको गुण्डुबाट ओली पक्राउ परेलगत्तै एमालेका भ्रातृ सङ्गठनहरूले माइतीघरमा भेला भएर नाराबाजी सुरु गरेका थिए। प्रदर्शनकारीहरूले ‘केपी ओलीलाई तुरुन्त रिहा गर’, ‘बालेन सरकार मुर्दावाद’ जस्ता चर्का नारा लगाएका छन्।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन तब तनावपूर्ण बन्यो, जब प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्न खोजे। प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग र धरपकड सुरु गरेको छ।

अहिले माइतीघरदेखि बानेश्वरसम्मको सडक खण्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। एमालेले आफ्ना अध्यक्षलाई विना सर्त तत्काल रिहा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *