भदौ २३-२४ घटना : एमालेद्वारा उच्चस्तरीय छानबिन आयोग माग

काठमाडौँ । नेकपा (एमाले) ले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि शनिबार बिहान च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘प्रतिशोधपूर्ण’ र ‘कानुनी शासन विपरीत’ को कार्य बताएका छन्।

उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेको सुरुदेखि नै असहमति रहेको उल्लेख गर्दै उक्त प्रतिवेदन पूर्वाग्रही र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको दाबी गरे। एमालेले पक्राउ परेका दुवै नेताको तत्काल रिहाइको माग समेत गरेको छ।

उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले सरकारको यस कदमविरुद्ध कानुनी र राजनीतिक दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज अपराह्न ३ बजे प्रत्येक जिल्ला सदरमुकाममा जनसङ्गठनहरूले विरोध प्रदर्शन गर्नेछन् भने भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको अगुवाइमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाइनेछ।

एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संवाद र सहकार्य गरेर अघि बढ्ने नीति लिएको छ।

जेन–जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिका लागि कार्की आयोगले ‘फौजदारी कसुर’ मा अनुसन्धान गर्न सिफारिस गरेपछि शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुन्जेबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *