विराटनगर जेसीजद्वारा परोपकार घाटलाई कुर्सी हस्तान्तरण
विराटनगर। राम नवमीको पावन अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा नियमित रूपमा आयोजना हुने परमार्थ आरतीलाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ। “भक्ति र सेवाको संगम, परोपकारमा कुर्सी हस्तान्तरण कार्यक्रम-२०८२” अन्तर्गत सन्ध्या आरतीमा सहभागी हुने भक्तजनको सहजताका लागि ती कुर्सी प्रदान गरिएको हो।
विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झि पुचः का पूर्व अध्यक्ष सुदर्शन बहादुर श्रेष्ठ मुख्य अतिथि र परमार्थ सिङ्घिया आरतीका उपाध्यक्ष नवराज काफ्ले विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जेसीजले युवाको नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक–सांस्कृतिक संरक्षणलाई पनि समान प्राथमिकतामा राखेर अघि बढाउँदै आएको बताए। प्रमुख अतिथि श्रेष्ठले युवाले पुर्याएको यस्तो सामाजिक योगदानको प्रशंसा गर्दै यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे।
त्यसैगरी विशिष्ट अतिथि काफ्लेले आरती स्थलमा भक्तजनको सुविधाका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गरे। कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रिजन सिग्देलले उद्देश्यमाथि प्रकाश पारेका थिए भने सहसचिव गौरव कर्णले कार्यक्रम सञ्चालन गरेका थिए।
हस्तान्तरण कार्यक्रममा बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, पूर्व अध्यक्षहरू तथा विराटनगर जेसीजका पदाधिकारीहरूको सहभागिता थियो।
