मिथिलाञ्चलमा रामजन्मोत्सव : मठमन्दिरमा विशेष अनुष्ठान
महोत्तरी। मिथिलाञ्चलमा आज शुक्रबार विविध धार्मिक अनुष्ठानका साथ रामजन्मोत्सव (रामनवमी) हर्षोल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रमहरू प्रारम्भ भएका छन्।
विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भइरहेका छन् भने गाउँसहरका गल्लीहरूमा रामभजन गुञ्जिरहेका छन्।
श्रीराम मिथिलाका आराध्यदेव मात्र नभई यस क्षेत्रका ज्वाइँका रूपमा समेत पूजित हुने भएकाले रामनवमीको यहाँ विशिष्ट महत्त्व छ। लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले श्रीरामलाई मिथिलाले आफ्नै परिवारको सदस्यका रूपमा सम्मान गर्ने परम्परा रहेको बताए।
अहिले मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्डको पाठ भइरहेको छ। श्रद्धालुहरू बिहानैदेखि व्रत बसेर पूजाआजामा तल्लीन देखिएका छन्। भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतारलाई विशेष महत्त्वका साथ हेरिने महन्थ वैष्णवको भनाइ छ।
मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रमा भएका परिभ्रमणका पौराणिक कथाहरूले गर्दा पनि यो पर्व यहाँका बासिन्दाका लागि भावनात्मक रूपमा जोडिएको छ। यसैकारण रामनवमीका अवसरमा जनकपुरधाम लगायतका क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
