नयाँ राजनीतिक अध्याय: बालेन शाह आज प्रधानमन्त्री बन्दै
काठमाडौ महानगरको मेयरमा प्रतिस्पर्धा गर्नुअघि आफ्नो जन्मदिनको अवसरमा बालेन शाह। तस्बिरः पं. प्रज्वल लुइँटेल
काठमाडौं। स्वतन्त्र उम्मेदवारबाट काठमाडौंको मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका बालेन्द्र शाह (बालेन) ले आज शुक्रबार देशको ४३ औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३६ वर्षीय नेता शाहको यो उदयले मुलुकको परम्परागत राजनीतिक शक्ति संरचनामा नयाँ तरंग पैदा गरेको छ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा दिउँसो १२:३४ बजे शपथग्रहणको विशेष कार्यक्रम तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउनेछन्।
राष्ट्रपति कार्यालयका अनुसार यसपटकको समारोहमा विशेष सांस्कृतिक र धार्मिक विधि अपनाइनेछ। समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिने तयारी छ।
शपथलगत्तै शाहले दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदबहाली गर्नेछन्। सोही समयमा प्रारम्भिक मन्त्रिपरिषद् गठनको प्रक्रिया समेत अघि बढ्ने अपेक्षा गरिएको छ।
बिहीबार मात्रै रास्वपा संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका थिए। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा उनी दलको नेता चुनिएसँगै प्रधानमन्त्री बन्ने संवैधानिक बाटो खुलेको हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको थियो। शाहले झापा क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै ६८ हजार ३४८ मतका साथ विजय हासिल गरेका थिए।
संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शाहले सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्। काठमाडौं महानगरको मेयरका रूपमा भ्रष्टाचारविरुद्धको कडा अडान र प्रशासनिक सुधारमा देखाएको सक्रियताले उनलाई नागरिक स्तरमा लोकप्रिय बनाएको थियो।
अब देशको सर्वोच्च कार्यकारी पदमा पुगेका शाहका सामु आर्थिक सुधार, सुशासन र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता जटिल चुनौती छन्। युवा नेतृत्व र नयाँ सोचको दाबी गर्ने शाहका लागि यो कार्यकाल परीक्षणको नयाँ र महत्त्वपूर्ण चरण हुनेछ।
