बालेन रास्वपा संसदीय दलको नेता चयन, भोलि प्रधानमन्त्रीको शपथ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गरेको छ।
बिहीबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई सर्वसम्मत रूपमा दलको नेता चुन्ने निर्णय गरेको हो।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेसँगै अब नयाँ सरकारको नेतृत्व गर्ने बाटो औपचारिक रूपमा खुला भएको छ।
आम निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता हासिल गरेपछि शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको थियो।
संसदीय दलको नेता चुनिएसँगै शाहले भोलि शुक्रबार नै प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ।
नयाँ सरकार गठनको प्रक्रिया र मन्त्रिमण्डलको बाँडफाँटका विषयमा रास्वपाले अन्य दलहरूसँग पनि संवाद गरिरहेको छ।
