महत्त्वपूर्ण ३ वटा प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको राजनीति र प्रशासनसँग जोडिएका तीन वटा महत्त्वपूर्ण दस्ताबेजहरू सार्वजनिक गर्ने निर्णय गरेकी छन्। उनले भदौ २३ र २४ गतेको घटना, बाल मन्दिर सम्बन्धी अनियमितता र सुशासनको मार्गचित्र समेटिएका प्रतिवेदनहरू बाहिर ल्याउन लागेकी हुन्।

प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए।

यसअघि मंगलबार मात्रै उनले नेपाल बाल सङ्गठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरेकी थिइन्।

त्यस्तै, प्रधानमन्त्रीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार पारिएको ‘सुशासन मार्गचित्र २०८२’ लाई कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय समेत गरेकी छन्। यो मार्गचित्र प्रधानमन्त्री कार्यालयले नै सार्वजनिक गर्ने तयारी गरेको छ।

लामो समयदेखि गुपचुप राखिएका यी प्रतिवेदनहरू सार्वजनिक गर्ने निर्णयसँगै दोषीमाथि कारबाही हुने अपेक्षा गरिएको छ। विशेषगरी भदौको घटना र बाल मन्दिरको जग्गा प्रकरणमा संलग्न व्यक्तिहरूका बारेमा आम नागरिकले निकै चासोका साथ हेरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *