पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँका दरले मूल्य बढाइएको जानकारी दिएको हो।
पश्चिम एसियामा विगत एक महिनादेखि जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
विज्ञप्तिका अनुसार युद्धका कारण पछिल्लो १५ दिनमा निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा भइसकेको छ। अन्तर्राष्ट्रिय बजारको वर्तमान प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएकाले मूल्य बढाउनु अनिवार्य भएको दाबी निगमको छ।
नयाँ मूल्यसूची अनुसार पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८४.५० रुपैयाँ कायम भएको छ। त्यसैगरी, दोस्रो वर्गका क्षेत्र सुर्खेत र दाङमा १८६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गतका काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको यो आकस्मिक र विषम परिस्थितिलाई मध्यनजर गर्दै निगमले सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूलाई पेट्रोलियम पदार्थको खपतमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै, विश्व बजारमा तेलको मूल्य घट्नासाथ नेपालमा पनि तत्काल मूल्य घटाइने प्रतिबद्धता निगमले व्यक्त गरेको छ। यसअघि पनि निगमले पटक–पटक इन्धनको मूल्य बढाउँदै आएको थियो।
