पारिवारिक विवादमा आत्मदाहको प्रयास, आमा र छोरा घाइते
विराटनगर । विराटनगरमा बुधबार बिहान एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी छन्। विराटनगर महानगरपालिका-१४ जतुवाकी अन्दाजी ४२ वर्षीया निर्मला खत्रीले पारिवारिक विवादका कारण आत्मदाहको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ।
आमाले शरीरमा लगाएको आगो निभाउने क्रममा उनका १९ वर्षीय छोरा धीरज खत्री समेत घाइते भएका छन्। आगोले निर्मलाको अनुहार, छाती र हातसहित शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने छोरा धीरजको ५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
घाइते दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना बिहान १० बजेतिर भएको हो। सुरुमा घाइतेहरूले खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको भन्दै घटनालाई बंग्याउन खोजेका थिए।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार घटनास्थलमा विस्फोटको कुनै प्रमाण फेला नपरेपछि गरिएको थप सोधपुछमा पेट्रोल खन्याएर आगो लगाएको पुष्टि भएको हो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
