पत्नीको हत्या: शव कल्भर्टमुनि फालिएको अवस्थामा फेला

विराटनगर । विराटनगरमा एक युवकले आफ्नै पत्नीको बीभत्स हत्या गरी शव लुकाएको भयावह घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका-१५ हर्ताली हाटका रोशन साहले ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो।

रोशनले हत्या गरेपछि शवलाई लुकाउन अत्यन्तै सुनियोजित प्रयास गरेको पाइएको छ। उनले पत्नीको हातखुट्टा बाँधेर, तन्नाले बेरेर विराटनगर-१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि पानीमा फालेका थिए। घटनास्थल घरदेखि करिब ५ किलोमिटरको दूरीमा छ।

यो घटनाको खुलासा चार दिनपछि मात्र भयो। कल्भर्टमुनि शंकास्पद वस्तु देखेपछि स्थानीय वडाध्यक्ष समीर कमर मियाँले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको टोलीले अनुसन्धान सुरु गरेको थियो।

शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भए पनि हराइरहेका व्यक्तिहरूको हुलिया भिडाउँदा मृतक कोमलकुमारी भएको खुलेको हो।

मृतक कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशन आफैँले पत्नी हराएको भन्दै चैत ८ गते प्रहरीमा निवेदन दिएर घटना लुकाउने प्रपञ्च गरेका थिए।

अनुसन्धानका क्रममा उनले नै घाँटी थिचेर हत्या गरेको र प्रमाण नष्ट गर्न शवलाई पानीमा डुबाएको तथ्य बाहिर आएको छ। प्रहरीले रोशनलाई नियन्त्रणमा लिइसकेको छ र उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन्। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास नै यस जघन्य अपराधको मुख्य कारण देखिएको छ। रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्ने गरेको बुझिएको छ।

यही शंका र आपसी कलहले अन्ततः हत्याको रूप लिएको प्रहरीको भनाइ छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ र रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *