दमकमा ‘नेशनल कुलिनरी च्यालेन्ज’: ५० देशका शेफ सहभागी हुने
दमक। नेपाल सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा झापाको दमकमा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी जेठ १ र २ गते (मे १५ र १६) दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा दुई दिनसम्म यो प्रतियोगिता सञ्चालन हुनेछ।
कार्यक्रममा खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन र फुड फेस्टिभल समावेश गरिने बताइएको छ। देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारको संरक्षण र प्रवर्द्धन गर्दै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले बताए।
प्रतियोगितामा स्वदेश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककलाका विद्यार्थी र होटल व्यवसायीहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत विश्वका करिब ४५ देशबाट शेफहरू कार्यक्रममा सहभागी हुने जानकारी दिइएको छ। प्रतियोगितास्थलमा ५० भन्दा बढी फुड स्टल रहनेछन्। विभिन्न परम्परागत नेपाली परिकार प्रदर्शन गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। पुरस्कार स्वरूप प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसका साथै प्रतिभावान शेफहरूलाई भविष्यमा रोजगारीको अवसरसँग जोड्न ‘जब प्लेसमेन्ट’ को अवधारणा समेत ल्याइएको आयोजकले उल्लेख गरे।
यस कार्यक्रमले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन र पाककला पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। नेपाल सेफ सोसाइटीका महासचिव दीपक कार्कीले देशभर र विदेशमा रहेका इच्छुक सबैलाई प्रतियोगितामा सहभागी भई आफ्नो कला प्रदर्शन गर्न आह्वान गरे।
