दबाबमा नभई जिम्मेवारी बोध गरेर राजीनामा : गगन
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले कुनै हतार वा हतास मनस्थितिमा आएर राजीनामा नदिएको स्पष्ट पारेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो धारणा राखेका हुन्।
उनले विशेष महाधिवेशनपछि आफ्नै नेतृत्वमा पार्टी निर्वाचनमा होमिएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको समेत बताए।
सभापति थापाले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिने सोच बनाएको भए पनि निर्वाचन प्रक्रियाका कारण केही समय लम्बिन पुगेको जानकारी दिए।
उनले आफू कुनै पनि बाह्य दबाबमा परेर नभई पदको जिम्मेवारी र जवाफदेहितालाई मनन गर्दै राजीनामा दिने निर्णयमा पुगेको बताए।
यस्तै, उनले नेपाली कांग्रेसलाई निर्वाचनमार्फत जनताले प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई पार्टीले अत्यन्तै महत्वपूर्ण र गम्भीर ढंगले पूरा गर्नुपर्नेमा जोड दिए।
