खुम्चिँदो कांग्रेस, फैलिँदो गुटबन्दी: एकता कि अस्तित्वको संकट?
काठमाडौँ। नेपाली कांग्रेसभित्रको राजनीतिक वृत्तमा एउटा पुरानो भाष्य थियो- ‘शेरबहादुर देउवाविना पार्टी चल्दैन।’ देउवाको छहारीमा बसेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेहरूको लस्कर सधैँ लामो रह्यो।
तर, १४औँ महाधिवेशनपछि गगन थापा नेतृत्वको समूहले यो भाष्यलाई चुनौती दियो र ‘पुरानाबाट कांग्रेस चल्दैन’ भन्दै विशेष महाधिवेशनमार्फत नेतृत्व नै आफ्नो पोल्टामा पाऱ्यो।
‘रूपान्तरित कांग्रेस २.०’ को नारासहित गगनकै हस्ताक्षरमा टिकट बाँडियो र पार्टी चुनावमा होमियो। तर, चुनावी परिणाम भने लज्जास्पद हारमा परिणत भयो। हारपछि कांग्रेसको मञ्चमा पात्र त फेरिएका छन्, तर प्रवृत्ति भने उस्तै देखिएको छ। हिजो देउवाको वरिपरि झुम्मिनेहरूको भीड अहिले ‘गगन थापाविना कांग्रेस चल्दैन’ भन्दै सानेपामा लामबद्ध हुन थालेको छ।
चुनावमा पार्टीको खराब प्रदर्शनपछि नैतिकताका आधारमा थापाले दिएको राजीनामालाई केन्द्रीय समितिले ‘अस्वीकृत’ गरिदिएको छ। यसले के संकेत गर्छ भने, कांग्रेसभित्र अहिले पनि व्यक्तिकेन्द्रित राजनीति नै हाबी छ। हारको गम्भीर समीक्षा गर्नुको सट्टा नेतृत्व जोगाउने खेलमा मात्रै पार्टी अल्झिएको देखिन्छ।
विगतमा देउवाले बहुमतको दम्भ देखाएको भन्दै आलोचना गर्ने थापा पक्ष अहिले आफैँ त्यही दम्भको घेरामा फसेको आरोप लाग्न थालेको छ। विशेष महाधिवेशनपछि देउवा पक्ष अहिले पार्टी संरचनाभन्दा बाहिरै छ भने डा. शेखर कोइराला पक्षले पनि वर्तमान नेतृत्वलाई पूर्ण रूपमा स्वीकार गरिसकेको छैन। यस्तो आन्तरिक विवाद र गुटबन्दी कायमै राखेर चुनावमा जाँदा भोग्नुपरेको हारबाट पाठ सिक्नुपर्नेमा नेतृत्वले ध्यान दिएको देखिँदैन।
‘देउवालाई विस्थापन गरेर आएको नयाँ नेतृत्व कतै ‘देउवा २.०’ त बनिरहेको छैन?’ भन्ने प्रश्न अहिले कांग्रेसभित्रै उठ्न थालेको छ। नेतृत्वले तत्काल नियमित महाधिवेशन गरेर सबै पक्षलाई समेट्ने अवसर भए पनि तल्लो तहसम्म विभाजित कार्यकर्तालाई एक बनाउने ठोस पहल गरेको पाइँदैन।
अर्कोतर्फ, किनारामा पुगेको देउवा समूह अहिले सर्वोच्च अदालतको फैसला र देउवाको विदेश भ्रमणबाट फर्कने पर्खाइमा छ। यो समूहले अब समानान्तर गतिविधि गर्ने तयारी गरिरहँदा कांग्रेसभित्रको शक्ति संघर्ष थप जटिल मोडमा पुग्ने निश्चित छ। गगन थापाका लागि अहिलेको मुख्य चुनौती आफ्नो ‘नैतिक छवि’ जोगाउँदै विभाजित कांग्रेसलाई कसरी जोड्ने भन्ने नै हो।
