इलामको महिला शिक्षाकी अग्रणी व्यक्तित्वको निधन
इलाम। इलामको शैक्षिक इतिहासमा एउटा स्वर्णिम युगको नेतृत्व गरेकी आदरणीय व्यक्तित्व कृष्णकुमारी वैद्यको ८४ वर्षको उमेरमा काठमाडौँको आज सोमबार बिहान बुढानीलकण्ठमा निधन भएको छ । उनको निधनले सम्पूर्ण इलामेली समाज र शिक्षा क्षेत्र मर्माहत भएको छ ।
उनी केवल एक शिक्षिका मात्र नभएर त्यो कठिन समयको एउटा दियो थिइन्, जब समाजमा छोरीलाई स्कुल पठाउनु र शिक्षित बनाउनु ठूलो चुनौती र साहसको काम मानिन्थ्यो । सरस्वती कन्या विद्यालय इलामको प्रधानाध्यापकका रूपमा उनले सयौँ बालिकाको हातमा कलम र मनमा आत्मविश्वास भरिदिइन्, जसको परिणामस्वरूप आज इलामका छोरीहरू हरेक क्षेत्रमा सक्षम र आत्मनिर्भर बनेका छन् ।
वि.सं. २००८ सालमा खुलेको सरस्वती कन्या स्कुल (हाल फनपार्क रहेको स्थानमा रहेको र पछि आदर्श माविसँग गाभिएको) मा उनले २०१४ सालमा म्याट्रिक पास गरेदेखि नै पढाउन थालेकी थिइन् । २०१७ सालमा इलाममा क्याम्पस खुलेपछि अध्ययनलाई अघि बढाएकी उनी ‘बीए’ पास गर्ने इलामकै पहिलो महिला थिइन् ।
२०२४ सालमा उनी सोही विद्यालयको प्रधानाध्यापक बनिन् । उनले धनकुटाको गोकुण्डेश्वर विद्यालयमा समेत प्रधानाध्यापकका रूपमा सेवा गरेकी थिइन् भने तत्कालीन पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको शिक्षक छनोट समितिको सदस्यका रूपमा समेत योगदान पुऱ्याएकी थिइन् ।
उनको कार्यकुशलताको कदर गर्दै वि.सं. २०२८ सालमा तत्कालीन युवराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवलाई विद्यालयमा स्वागत गर्ने ऐतिहासिक अवसर समेत उनले पाएकी थिइन् । उनले कोरेको महिला शिक्षाको मार्गले इलामलाई मात्र नभई सम्पूर्ण नेपाललाई नै महिला सशक्तीकरणको एउटा सफल मोडल देखाएको छ ।
स्वर्गीय कृष्णकुमारी वैद्य इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यकी दिदी र कवि तथा लेखक विमल वैद्यकी फुपु हुन् । उनको निधनमा चेलाचेली, आफन्त र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले आफ्नी गुरुआमालाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् । उनले भनेकी छन्, ‘आदरणीय दिदी, जसले मलाई कक्षा ७ देखि १० सम्म अध्यापन गराउनुभएको थियो, आज उहाँको दुःखद निधनको खबरले म सारै चिन्तित भएँ । हार्दिक श्रद्धाञ्जली, स्वर्गमा वास होस् र परिवारजनमा समवेदना ।’
कृष्णकुमारी वैद्यले रोपेको चेतनाको बीउ र उनले देखाएको दृढता सधैँ प्रेरणाको स्रोत बनिरहनेछ । एउटा समर्पित जीवनको भौतिक अन्त्य भए तापनि उनले फैलाएको ज्ञानको उज्यालो प्रत्येक शिक्षित महिलाको प्रगतिमा झल्किरहनेछ ।
