मिथिलाञ्चलमा चैती छठ सुरु
महोत्तरी। महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज आइतबारदेखि विधिवत रूपमा चैती छठ पर्व सुरु भएको छ। चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा धार्मिक उत्साहका साथ सुरु भएको हो।
चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी र बर्दिबासलगायतका सहरी तथा ग्रामीण क्षेत्रका पोखरी, तलाउ र नदी किनारमा धुमधामका साथ मनाइँदै छ।
विशेषगरी बिग्ही, रातो मरहा, जङ्गहा र अंकुसी नदीका किनारमा छठ घाटहरू सजाइएका छन्। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकले बताए। उनका अनुसार संसारमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई पूजा गरिने यो एक मात्र विशेष पर्व हो।
पारिवारिक सुख, शान्ति, समृद्धि र रोगमुक्तिको कामना गर्दै मनाइने यस पर्वको पहिलो दिन आइतबार व्रतीहरूले ‘नहा खा’ अर्थात् स्नान गरी चोखो खाएर व्रतको संकल्प गरेका छन्। पर्वको दोस्रो दिन सोमबार खर्ना मनाइनेछ, जसमा व्रतीहरू दिनभर निराहार उपवास बसेर राति कुलदेवताको पूजा गरी विना नुनको खानेकुरा ग्रहण गर्नेछन्।
त्यस्तै मंगलबार षष्ठीका दिन साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया जस्ता पकवान र विभिन्न फलफूलसहित जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। बुधबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुनेछ।
धार्मिक आस्थाका साथै सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व पछिल्लो समय हिन्दूका साथै मुस्लिम समुदायले पनि मनाउने गरेका छन्। पौराणिक कथन अनुसार महाभारत कालमा द्रोपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको समयदेखि नै यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।
