वानीरा फाउन्डेसनद्वारा विभिन्न विधाका पुरस्कार घोषणा
काठमाडौँ । वानीरा फाउन्डेसनले नेपाली साहित्य, विज्ञान र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधाका ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा शनिबार बसेको बैठकले कवि तथा गीतकार माधव खनाल ‘भावुक’, कम्प्युटर वैज्ञानिक मुनि शाक्य, आख्यानकार धनराज गिरी र समाजसेवी सरोज ढकाललाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
यी पुरस्कारहरू डा. वानीरा गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतीयाका दिन काठमाडौँमा वितरण गरिनेछ।
नेपाली भाषा र साहित्यमा सात दशकभन्दा बढी समयदेखि साधनारत गीतकार माधव खनाल ‘भावुक’ लाई १ लाख रुपैयाँ राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ। वि.सं. २००९ मा पहिलो कृति प्रकाशन गरेका भावुकका सिर्जनामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र मातृकाप्रसाद कोइराला जस्ता दिग्गजहरूले भूमिका लेखेका थिए।
त्यस्तै, नेपालमा कम्प्युटर लिपिको निर्माण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित रोबोट आविष्कार गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उच्च बनाएबापत वैज्ञानिक मुनि शाक्यलाई १ लाख रुपैयाँ राशिको ‘वानीरा शङ्कर पुरस्कार’ दिने निर्णय भएको छ।
आख्यान, कविता र हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका चितवनका धनराज गिरीलाई ५० हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गरिने भएको छ।
यसका साथै काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को सामाजिक विकासमा निरन्तर सक्रिय सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ बाट सम्मानित गरिने फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।
ई. शङ्कर गिरीको उपस्थितिमा भएको बैठकले नेपाली साहित्यकी विश्व नारी रत्न डा. वानीरा गिरीको सम्मानमा यी पुरस्कारहरू स्थापना गरेको हो।
