गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
विराटनगर। नेपाली राजनीतिका अग्रज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो। चार पटकसम्म मुलुकको प्रधानमन्त्री बनेका कोइरालालाई नेपाली राजनीतिमा दृढ इच्छाशक्ति र सहमतिको राजनीतिको सूत्रधारका रूपमा स्मरण गरिन्छ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध भएको २०६२/६३ को जनआन्दोलनमा कोइरालाले निर्णायक नेतृत्व प्रदान गरेका थिए। उनको सक्रियतामा विघटित प्रतिनिधिसभा पुनःस्थापना भएपछि त्यसलाई नेपाली ‘म्याग्नाकार्टा’को संज्ञा दिइएको थियो।
आन्दोलन सफल भएपछि पुनः प्रधानमन्त्री बनेका कोइरालाकै कार्यकालमा दशकौँ लामो माओवादी सशस्त्र द्वन्द्व अन्त्य भई शान्ति प्रक्रिया अगाडि बढेको थियो।
कोइरालाकै अगुवाइमा २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भई मुलुक नयाँ राजनीतिक युगतर्फ प्रवेश गरेको थियो।
यसैगरी २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गराउन पनि उनले ऐतिहासिक नेतृत्वदायी भूमिका निर्वाह गरे।
कोइरालाको योगदानको कदर गर्दै नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले आज विभिन्न स्मृति सभा, दीप प्रज्वलन तथा विचार गोष्ठीहरू आयोजना गरेका छन्।
