झापामा गुडिरहेको गाडीका चालकको अचानक मृत्यु
विराटनगर। झापाको कमल गाउँपालिका-५ स्थित सितापुरी चोकमा गुडिरहेको गाडीका चालकको अचानक मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्ग भएर बिर्तामोडबाट मोरङको पथरीशनिश्चरेतर्फ आउँदै गरेको प्र १-०४-००१ च ००८० नम्बरको स्कोरपियोका चालक गुडिरहेकै अवस्थामा अचानक बेहोस भएका थिए।
बेहोस भएको केही बेरमै स्कोरपियो चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-९ का ४५ वर्षीय योगेश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडी चलाइरहेका बेला शुक्रबार साँझ साढे ६ बजेतिर असहज महसुस गरेका उनी तत्काल बेहोस भएका थिए। सडक किनारमा रोकिएको गाडीका यात्रुहरूले उनलाई बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। धिमाललाई राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
धिमाल किन बेहोस भए र उनको मृत्युको कारण के हो भन्ने खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय दमकले घटनाको अनुसन्धान गरिरहेको छ।
