गगन थापाको राजीनामा अस्वीकृत, हारको कारण ‘गुटबन्दी र वितृष्णा’
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भोग्नु परेको पराजयबारे प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ।
शुक्रबारको बैठकमा प्रतिवेदन पेस गर्दै उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको चरम गुटबन्दी र जनतामा रहेको वितृष्णाका कारण निर्वाचनको नतिजा प्रतिकूल आएको बताए।
उनले सबैजसो दलहरूमा देखिएको गुटबन्दीले मतदातामा निराशा जगाएको र पार्टीले कतिपय जायज आवाजलाई नजरअन्दाज गर्दा हार बेहोर्नु परेको उल्लेख गरे।
बैठकमा उपसभापति शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव समेत पेस गरे। उनले सातवटा बुँदासहित सभापतिको राजीनामा स्वीकृत गर्न नहुने तर्क राखेका थिए।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमै जादुई नतिजा खोज्नु व्यवहारिक नहुने र प्रतिकूल अवस्थामा कमान्ड छोडेर जानु सङ्गठनप्रति न्याय नहुने उनले बताए।
सभापतिको नैतिक जिम्मेवारी बोध गर्ने भावनाको कदर गर्दै बैठकले उनको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको जानकारी दिए।
कांग्रेस निर्वाचनमा पहिलो दल बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको भने विजय भएको प्रतिवेदनमा दाबी गरिएको छ। बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।
