पश्चिम एसियामा अवस्था ‘सामान्य बन्दै’, उडान सञ्चालनको तयारी

काठमाडौँ। परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएको बताएको छ। मन्त्रालयका अनुसार श्रम गन्तव्य मुलुकहरूमा स्थिति सुधारोन्मुख भएसँगै श्रम स्वीकृतिसम्बन्धी कामका लागि सम्पर्क गर्नेहरूको सङ्ख्या बढेको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले पश्चिम एसियाली श्रम मुलुकमा हालको अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिनेहरू बढेको बताए।

मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समार्फत दमाम, दुबई, मस्कट, दोहा, शारजाह र अबुधाबी जस्ता गन्तव्यमा यथाशीघ्र उडान सञ्चालनका लागि अनुमति प्रक्रिया अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सिफारिस गरिसकेको छ।

यसका लागि आवश्यक पत्राचार भइरहेको र यात्रुले हवाई भाडा बेहोर्ने गरी उडान सञ्चालन गर्न क्यानसँग समन्वय भइरहेको उनले जानकारी दिए। आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै ‘इमर्जेन्सी कन्ट्रोल रुम’ सञ्चालनका लागि तयार गरिएको कार्यविधि (एसओपी) अनुमोदन भई कार्यान्वयनको प्रक्रियामा रहेको बताइएको छ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत ३ गतेदेखि पश्चिम एसियाली श्रम मुलुकमा परिस्थिति सुधार नभएसम्मका लागि श्रम स्वीकृति स्थगन गरेको थियो।

विशेष गरी इजरायल र इरान द्वन्द्वसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्र तथा कुवेत, बहराइन र इराकमा आकाश मार्ग पूर्ण रूपमा नखुलेको अवस्था बाहेक अन्य स्थानमा हवाई सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पश्चिम एसियाका प्रमुख सहरहरूमा उडान अनुमति प्रक्रिया छिटो अघि बढाउन र आवश्यक समन्वय गरी द्रुत रूपमा काम पुरा गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *