कांग्रेस सुधारको महाअभियानमा सक्रिय हुन्छु : गगन
काठमाडौँ । पदबाट राजीनामा दिएका नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सुधारमा लाग्ने बताएका छन्। आफूले दिएको राजीनामा पराजयको स्वीकारोक्ति मात्र नभएर पार्टीभित्रको जरादेखि सुधार र पुनर्जागरणका लागि सक्रिय हुने उनको भनाइ छ।
बुधबार पार्टी उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाउँदै उनले पद त्याग गरे पनि कांग्रेसलाई आम जनताको भरोसायोग्य पार्टी बनाउने आफ्नो मुख्य लक्ष्यबाट विचलित नहुने र अब झन् दृढताका साथ सक्रिय रहने स्पष्ट पारेका छन्।
थापाले आफ्नो राजीनामा पत्रमा निर्वाचन परिणाम प्रतिकूल आउनुको मुख्य प्राविधिक कारण विशेष महाधिवेशन र निर्वाचनबीचको छोटो अन्तराललाई ठानेका छन्।
गत पुस ३० गते विशेष महाधिवेशनबाट सभापति चुनिएको एक सातामै उम्मेदवारी दर्ता गर्नुपरेको र लगत्तै निर्वाचनमा होमिनुपरेकाले ‘बदलिएको कांग्रेस’ को एजेन्डा आम मतदातासम्म पुर्याउन पर्याप्त समय नपाएको उनले उल्लेख गरेका छन्।
‘पार्टीभित्र सुरु भएको परिवर्तनको लहरले कार्यकर्तामा उत्साह जगाए पनि त्यसलाई आम नागरिकको मतमा बदल्न समयको सीमा बाधक बन्यो,’ थापाले राजीनामा पत्रमा लेखेका छन्।
परिस्थितिको सीमा रहे तापनि नेतृत्वको नाताले हारको पूर्ण जवाफदेहिता आफैँले लिने थापाले स्पष्ट पारेका छन्। आफूले कति समय जिम्मेवारी सम्हालेँ भन्ने कुराले नैतिकताको प्रश्नलाई नरोक्ने भन्दै उनले वर्तमान परिणामको नैतिक भार वहन गर्दै पदबाट हटेको बताएका छन्।
उनको यो राजीनामा पदका लागि मात्र नभएर सिद्धान्त र आचरणमा आधारित राजनीति स्थापित गर्ने दिशामा एउटा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
उनले राजीनामालाई हारको रूपमा भन्दा पनि पार्टीलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा लिएका छन् र अब आफ्नो सम्पूर्ण उर्जा पार्टी सुधार र पुनर्जागरणका लागि खर्चिने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन लगत्तै राजीनामा दिने सोच बनाए पनि समानुपातिक तर्फको उम्मेदवार सिफारिस र केही अत्यावश्यक साङ्गठनिक कामहरू टुङ्ग्याउनुपर्ने भएकाले केही दिन ढिलो गरी निर्णय लिएको उनले जानकारी दिए।
थापाले पदमा नरहे पनि नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने र पार्टीभित्रको सुदृढीकरण यात्रामा थप ऊर्जाका साथ लागिरहने प्रतिबद्धता जनाएका छन्।
उनको यो कदमले पार्टीभित्र सुधारको नयाँ बहस सुरु गर्ने अपेक्षा गरिएको छ र कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वको उदयको संकेत पनि गरेको छ।
