निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई, अब सरकार गठन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेलगत्तै आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको समग्र प्रतिवेदन बुझाउने तयारी गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिनेछ। राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने कानुनी बाटो खुल्नेछ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फ पनि रास्वपाकै वर्चस्व देखिएको छ, जहाँ उसका ५७ जना सांसद निर्वाचित भएका छन्।

अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेको छ। त्यस्तै, नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी जम्मा २५ सिट हात पारेको छ।

नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी जम्मा १७ सांसद पाएको छ। श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट जितेका छन्। प्रत्यक्षतर्फ श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *