हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो
काठमाडौं। खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका थिए।
घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी थप उपचारका लागि दिउँसो १२:४२ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
कल साइन एन–एएफक्यु रहेको उक्त हेलिकप्टर बुधबार बिहान ११:०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशीका लागि उडेको हो। दुर्घटनास्थल खानिडाँडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।
खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको बताएको छ। हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको कार्यालयले जनाएको छ। उडान सुरक्षा र प्राविधिक कारणबारे अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छन्।
