खोटाङमा हेलिकोप्टर दुर्घटना
विराटनगर। खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छास्थित बालाबेसीमा बुधबार हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट आफन्तको मरिमराउ भएको घरमा आउँदा हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रजिअ कँडेलले बताइन्। केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा सन्तुलन नमिल्दा दुर्घटना भएको हो। सुरुमा डिलमा अवतरण हुन लागेको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीच भागमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए।
हेलिकोप्टरमा कति जना सवार थिए र कुन कम्पनीको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनायो।
प्रतिक्रिया
