‘नयाँ पार्टीलाई प्राप्त जनमत संविधान जोगाउन सदुपयोग होस्’
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा सदुपयोग गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको मंगलबार लोकार्पण गर्दै उनले यस्तो धारणा राखे ।
डा. यादवले ‘जेनजी’ युवाहरूको आन्दोलन र त्यसपछिको निर्वाचन परिणामलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए । विगतको इतिहास स्मरण गर्दै उनले भने, “वि.सं. २०१५ मा पनि नेपाली काँग्रेसले दुई तिहाइ ल्याएको थियो, तर त्यसले पूरा समय काम गर्न पाएन । अहिलेको जनमत त्यसरी खेर नजाओस् । देश, संविधान, लोकतन्त्र, सङ्घीयता र समावेशिता सबै बचोस् ।”
उनले संविधानको पालना र रक्षा हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा प्रतिपक्ष नै नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच राख्न नहुने बताए । प्रतिपक्षबिना लोकतान्त्रिक प्रणाली बलियो हुन नसक्ने उनको तर्क थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त पार्टीले देश निर्माणको नेतृत्व लिनुपर्ने बताए । सन् २०१७ यता चलिरहेको ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कारलाई पछिल्लो जनमतले तोडिदिएको उल्लेख गर्दै उनले अब विगतका गल्ती दोहोर्याउन नहुने धारणा राखे ।
