एमालेले बुझायो १६ समानुपातिक सांसदको सूची
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो भागमा परेका १६ सिटका लागि सम्भावित सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार आइतबार निर्वाचन आयोगमा नामावली पेस गरिएको केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए ।
एमालेले विभिन्न क्लस्टरका आधारमा नामहरू छनोट गरेको छ । जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरिएको छ ।
त्यस्तै खस आर्य महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम सूचीमा समावेश छ ।
अन्य क्लस्टरतर्फ पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई सिफारिस गरिएको छ भने थारू पुरुषबाट कृपाराम राना चयन भएका छन् ।
दलित महिला कोटामा विष्णुमाया विक र नीता घतानीको नाम बुझाइएको छ । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम सिफारिस भएको छ ।
मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीलाई सांसद बनाउन एमालेले आयोगमा नाम पठाएको नेता आचार्यले बताए ।
