ग्यास र इन्धनमा कालोबजारी गरे कारबाहीको चेतावनी
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनको इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
बजारमा मौज्दात हुँदाहुँदै छैन भन्दै बढी मूल्य लिने वा उपभोक्तालाई फर्काउने गरिएको गुनासो बढेपछि महानगरले आफ्नो निगरानी संयन्त्रलाई सक्रिय बनाएको हो।
महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार नेपाल आयल निगमले तोकेको आधा सिलिन्डरको ९५५ रुपैयाँभन्दा बढी मूल्य लिने र गलत सूचना फैलाउनेहरू कारबाहीको दायरामा आउनेछन्।
उपभोक्ताले पनि अभाव हुने डरले आवश्यकताभन्दा बढी सञ्चिति गर्दा आपूर्ति चक्रमा असर पुग्ने भएकाले सञ्चिति नगर्न आग्रह गरिएको छ । यस्तै, पेट्रोल पम्पहरूले इन्धन लुकाएको पाइएमा महानगरले कडा कदम चाल्ने बताइएको छ।
काठमाडौँ महानगरपालिकाले ग्यास वा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखेमा महानगरको हटलाइन नम्बर ११८० मा जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
ग्यास बिक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै उपभोक्तालाई नआत्तिन र सञ्चिति नगर्न आग्रह गरेका छन्।
